शिक्षकहरूको सबैभन्दा ठूलो पेशागत संगठन नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको २४औँ राष्ट्रिय परिषद् आजदेखि ललितपूरमा सुरु भएको छ । राष्ट्रिय समिति अध्यक्ष हंसबहादुर शाहीको अध्यक्षता र श्रमजीवि वर्गको समृद्धिका लागि साझा ढंगले क्रियाशील रहेका नेपालका मान्यता प्राप्त दश वटा ट्रेड युनियन महासंघहरुको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र-JTUC का संयोजक एवं नेपाल ट्रेड युनियन महासंघ-GEFONT का अध्यक्ष विनाेद श्रेष्ठको प्रमुख आतिथ्यमा सुरु भएको दुईदिने परिषद्को पहिलो दिन समसामयिक शैक्षिक, श्रमिक तथा संगठनात्मक विषयमा केन्द्रित परिसंवाद र अन्तरक्रिया सम्पन्न भएको छ ।
परिषद्को उद्घाटन सत्रमा प्रमुख अतिथी तथा अतिथीहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । शुभकामना मन्तव्य राख्दै वक्ताहरूले बदलिँदो शैक्षिक परिवेशमा शिक्षकको भूमिका, पेशागत अधिकारको संरक्षण, समावेशी शिक्षा, सामाजिक साझेदारी तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार शिक्षकका अधिकार सुनिश्चित गर्न आवश्यक नीतिगत र व्यवहारिक पक्षमा जोड दिएका दिनुका साथै सहभागीहरूले पनि प्रस्तुत विषयमा जिज्ञासा राख्दै आफ्ना अनुभव र धारणा राखेका थिए ।
उद्घाटन सत्र पछि पार्षदहरुको सहभागितामा शिक्षक आन्दोलनको भविष्य, गुणस्तरीय शिक्षा, लैङ्गिक समानता, सामाजिक संवाद तथा श्रमिक अधिकारजस्ता विषयमा विज्ञहरूको सहजीकरण रहेको थियो । त्यसै क्रममा लक्ष्मण शर्माले वृहत् ट्रेड युनियन निर्माण र यसको औचित्यता, डा. विमला राई पौडेलले लैङ्गिक समानता र समावेशीकरण, सागर प्याकुरेलले सामाजिक संवाद र गुणस्तरीय शिक्षा तथा अधिवक्ता भक्तिराज घिमिरेले श्रमिक आन्दोलन, ILO र श्रम कानुन विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो ।
परिषद्को दोस्रो दिन विषयगत समूहगत छलफल सञ्चालन गरिनेछ । समूहगत छलफलबाट प्राप्त सुझाव र निष्कर्षलाई समेटेर परिषद्को साझा धारणा तथा भावी कार्यदिशा तय गरिने कार्यक्रम रहेको छ । परिषदबाट शिक्षकहरूको पेशागत हकहित, संगठन सुदृढीकरण, गुणस्तरीय सार्वजनिक शिक्षा, सामाजिक न्याय तथा समावेशी शिक्षा प्रणालीका पक्षमा स्पष्ट नीतिगत धारणा निर्माण हुने सङ्गठनले विश्वास व्यक्त गरेको छ ।
